काठमाण्डौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको प्रष्ट पारेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले आज सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल भ्रष्टाचार नियन्त्रणमा गत वर्षकै स्थानमा रहेको हो । सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल १ सय १७ औं स्थानमा रहेको छ । गतवर्ष पनि यस सूचीमा नेपालको १ सय १७ औं स्थानमानै रहेको थियो ।
जसअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताउनुभयो । सीपीआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान २५औं स्थान, मालदिभ्स र भारत ८५ औं स्थान, श्रीलंका १ सय २ औं स्थान, पाकिस्तान१४० औं स्थान, बङ्गलादेश १४७ औं स्थान र अफगानिस्तान १७४ औं स्थानमा रहेका छन् ।
छिमेकी मुलुक चीन ६६ औं स्थानमा रहेको छ । नेपालको स्थिति दक्षिण एसियाली मुलुकहरूमा भुटान, माल्दिभ्स, भारत र श्रीलंकापछिको पाँचौं स्थानमो छ । सीपीआईले विश्वभरि नै भ्रष्टाचार विरोधी प्रयासमा भएको कमी र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको जनाएको छ ।००००

