काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट गठीत पाँच दलीय गठबन्धनको सरकारले विभिन्न बाहनामा स्थानीय तहको निर्वाचन धकेल्न लागेको आरोप लगाएका छन्।
अध्यक्ष ओलीले आईतबार विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले ६ महिनामै मुुकको अर्थतन्त्र, कुटनीतिक सम्बन्ध, शान्तिसुरक्षा लगायतका क्षेत्र समस्याग्रस्त बनाएको बताए। विज्ञप्तिमा सर्वोच्च अदालतका पदाधिकारीहरूसँग साँठगाँठ गरेर संविधानको अपव्याख्या गरेर गठित सरकारले जनताको मौलिक हक अबरुद्ध गर्ने कार्यहरूमा अग्रसर भएको उल्लेख छ।
गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने ‘कार्ड’ फ्याँकेपनि त्यो प्रस्ताव कुनै असल मनशायले नभई स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको बताएका छन् ।
विज्ञप्ति मार्फत अध्यक्ष ओलीले ‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौँ। हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौँ। साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन’, अध्यक्ष ओलीले भनेका छ्न् ।

