काठमाडौं– राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्ने मतदाताहरुको हकमा पनि पूर्ण खोप लगाएको प्रमाण पत्र अनिवार्य गरिएको छ। मतदान केन्द्र प्रवेश गर्नु अगाडि मतदाताहरुले खोप कार्ड देखाउनुपर्ने छ।
माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ। निर्वाचन आयोगले हरेक मतदान स्थलमा तापक्रम मापद गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित २ जना स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क हुने जनाएको छ। मतदान स्थलमा अनिवार्य रुपमा सबैले सामाजिक दूरी कायम गर्नुपर्ने पनि आयोगले जारी गरेको मापदण्डमा उल्लेख छ।
मतदान केन्द्र तथा स्थलमा पूर्ण खोप लगाएका कर्मचारी तथा सुरक्षाकर्मी मात्रै खटाइने पनि आयोगले जनाएको छ। मतदान केन्द्र र मतगणना स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक लगायत सबैले अनिवार्य रुपमा मास्क, फेस सिल्ड र पञ्जा लगाउनुपर्ने आयोगको मापदण्डमा व्यवस्था गरिएको छ।
मतदान सम्पन्न भइसकेपछि मतगणनास्थलमा मतपेटिका खोल्नु अगाडि अनिवार्य रुपमा निसंक्रमण गर्ने व्यवस्था गर्नुपर्ने पनि मापदाण्डमा उल्लेख छ।
मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने पनि आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डमा उल्लेख छ। यस्तो एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालले गर्नुपर्ने आयोगले जनाएको छ।
राष्ट्रिय सभाको निर्वाचनका मतदाता (प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष)ले ७२ घण्टा अगाडि कोरोना जाँचका लागि पीसीआर परीक्षण गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था गर्न पनि आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र सम्बन्धित प्रदेशको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयलाई आग्रह गरेको छ।
मतदान गर्न जाने मतदातालाई मतदान स्थलमा रहेका स्वास्थ्यकर्मीले पछिल्लो १४ दिनको स्वास्थ्यवस्था बारे जानकारी लिनेछन्। मतदाताले मतदानस्थलमा प्रवेश गर्दा स्वास्थ्यकर्मीले पछिल्लो १४ दिनमा ज्वरो आए, नआएको, रुघाखोकी वा कोभिड १९ का अन्य लक्षण देखिए नदेखिएकोबारे सोध्ने र तापक्रम जाँचेर उच्च ज्वरो लगायत कोभिड संक्रमणका लक्षण देखिएमा त्यस्ता मतदाताको लागि मतदान गर्न अलग्गै व्यवस्था गरिने आयोगले जनाएको छ।
कोभिड संक्रमण पुष्टि भएका मतदाताका लागि मतदान गर्न छुट्टै लाइनको व्यवस्था गरिने पनि स्वास्थ्य मापदण्डमा उल्लेख छ। संक्रमित मतदाताले प्रयोग गरेका मतदान सामग्री निसंक्रामक गरेपछि मात्रै अन्य मतदाताका लागि प्रयोगमा ल्याइने पनि आयोगले जनाएको छ।



