काठमाडौं– माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मधेश प्रदेशका विपक्षी दलहरु नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल हुने भएको छ। राष्ट्रिय सभाका १९ जना सदस्यहरु चुन्न माघ १२ गते निर्वाचन हुँदैछ। मधेश प्रदेशबाट राष्ट्रिय सभामा चुनिने २ सदस्य (अन्य र महिला)का लागि दुवै पार्टीले भागबण्डा गरेका हुन्।
अन्य तर्फको सदस्यमा एमाले र महिला तर्फको उम्मेदवारमा लोसपाका उम्मेदवारलाई मतदान गर्ने २ पार्टीबीच सहमति भएको छ। प्रदेशबाट अन्यमा एमाले उम्मेदवार उसमान अंसारी र महिलामा लोसपाका उम्मेदवार रुपा कुमारी यादव छन्।
एमाले प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपाका मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त प्रेस वक्तव्य जारी गर्दै चुनावी तालमेल भएको जानकारी दिएका छन्।

