काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक दाहालले मंगलबार (आज) समितिको कार्यालयमा राजीनामा–पत्र बुझाएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कार्यकारी निर्देशक दाहालले राजीनामाको एकप्रति आफूलाई पठाएको बताएका छन् । पर्यटन मन्त्रालयको छानबिन गर्दा बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमत्तोबाट नारायणहिटीमा १४ रोपनी जग्गा ‘कौडीको मूल्य’मा हात पारेको तथ्य भेटिएको थियो ।
यता कार्यकारी निर्देशक दाहालले पनि छानबिनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको बताउँदै ३० वर्ष पुरातत्व विभागमा आफूले काम गरेको र संग्रहालयमा काम गर्दा पनि आफूले कहिल्यै गलत नियतले कुनै पनि निर्णय नगरेको दाबी गरेका छन् ।
दाहालले आफ्नो राजीनामा पत्रमा वि.सं.२०७६ साल मंसिर ३ गते ४ वर्षका लागि संग्रहालयको स्रोत साधन जुटाउने उद्देश्यले ठेक्का प्रक्रिया आह्वान गरेको उल्लेख गरेका छन् ।
त्यस्तै कोरोना महामारीको समयमा संग्रहालयमा स्रोत अभावका कारण आफूले सफा नियतले ठेक्का प्रक्रिया सुरु गरेको भएता पनि बतास समूहले सम्झौताअनुरुप काम नगरेको उनको जिकिर छ ।

