एजेन्सी । अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ ।यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गर्नुभएको छ ।
उहाँका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन् । अरु कैयौँ व्यक्ति घाइते भएका छन् ।प्रारम्भिक समाचारअनुसार त्यस आगलागीमा परेका अरु ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले जानकारी दिनुभयो ।
न्युयोर्कको अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोलले यहाँको एक १९ तले भवनको एक तल्लामा आगो लागेको थियो । तर घाइतेहरु भने त्यस तल्ला बाहेकका अरु पनि धेरै तलामा भेटिएका थिए । उहाँका अनुसार त्यस भवनको एक तल्लामा आगो लागेपछि अरु तल्लाहरुमा पनि धुँवा भरिएको थियो । सो भवनमा धुवाँमा परेर कैयौँ व्यक्ति निसास्सिएका थिए ।

