काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको बताउनुभएको छ ।
शुक्रवार पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गर्नुभयो । एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमालेनै शक्तिशाली रहेको ओलीको दाबी थियो ।
गठबन्धन र नेकपा एकीकृत समाजवादीप्रति खरो टिप्पणी गर्नुभएका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिनुभयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनबारे अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताउनुभयो । एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको उहाँको भनाइ थियो ।
एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उहाँले भ्रममा नपर्न कार्यकर्ता र आमजनतालाई आग्रह गर्नुभयो ।

