काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समय देखि जारी संसदको गतिरोध अन्त्यको पहल गर्न लाग्नु भएको छ ।
प्रधानमन्त्री देउवाले लामो समयदेखि जारी संसदको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लाग्नु भएको हो । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति आजको बैठकमा संसदको गतिरोध अन्त्य गर्न सहमतिको विन्दु खोज्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको थियो । त्यसैको फलस्वरुप देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाने तयारीमा जुट्नु भएको हो ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदको दुवै सदनको बैठकमा अवरुद्ध पार्दै आएको छ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतीको बिन्दु खोज्नुपर्ने बताउनुभएको छ ।
समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका नेता तथा समन्वय समितिका संयोजक पौडेलले संसद र अदालतको अवरोध हटाउनका लागि सहमती र सम्झौताको बिन्दु खोज्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको बताउनुभयो । उहाँले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताउनुभयो ।
यसअघि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीसँग संवाद गर्न आफूहरु बालकोट जान तयार रहेको बताउनु भएको थियो । यस्तै गठबन्धनको बैठकले सर्वदलीय बैठकमा एमालेलाई उपस्थित गराउने जिम्मापनि प्रधानमन्त्री देउवालाई दिइएको छ । एमालेले भने आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको पद खारेज नगरेसम्म संसदको अवरोध जारी रहने बताउदै आएको छ ।००००

