काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्ने छन्। निर्वाचन आयोगले जारी गरेको चुनावी कार्यतालिका अनुसार राष्ट्रियसभामा रिक्त रहेका पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको हो।

आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता गराईसक्नु पर्नेछ। राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुँदैछ। यस पटक राष्ट्रियसभा सदस्य निर्वाचनमा १२ वटा दलहरूले सहभागी हुने भएका छन्। आयोगले दिएको समयमा ती दलहरूले पार्टी दर्ता गरेका थिए।

आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिँदैछ। राष्ट्रियसभा सदस्यको पदावधि सकिनु एक महिना अगाबै त्यस पदमा निर्वाचन गराउनु पर्ने व्यवस्था अनुसार सरकारले आगामी माघ १२ मा निर्वाचन गराउन लागेको हो। राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ पदका लागि माघ १२ मा निर्वाचन हुन लागेको हो । एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने छन्।