काठमाडौं । नेकपा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रले माओवादी केन्द्रको विधान पारित गरेको छ।

मस्यौदामा उठेका विभिन्न समूहका प्रश्नको देव गुरूङले जवाफ दिएपछि विधान पारित भएको हो। विधानले २९९ सदस्य केन्द्रीय कमिटी र १५ प्रतिशत केन्द्रीय कमिटीले मनोनीत गर्न सक्ने प्रावधान पारित गरेको छ।

यद्यपि पदाधिकारीको संख्या टुंग्याउने जिम्मा केन्द्रीय कमिटीलाई दिइएको छ। योसँगै माओवादीको पदाधिकारी संख्या अनिश्चित भएको छ। पदाधिकारी महाधिवेशनले नटुंग्याउने निश्चित भएको छ।

यसअघि विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियो। माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको थियो।

यसैगरी माओवादी केन्द्रले ५० प्रतिशत समावेशी राख्ने भएको छ। निर्वाचन आयोगको नियनअनुसार समावेशी ४० प्रतिशत राख्नुपर्ने हुन्छ। तर माओवादीले भने ५० प्रतिशत समावेशी राख्ने भएको हो।