काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताको सम्भावनाबारे छलफल भएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई उनकै निवासमा भेटेर पार्टी एकताको प्रस्ताव राखेका हुन् । 

राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले दुवै पार्टीका नेताको चाहनामा आज भेटवार्ता भएको लोकान्तरलाई जानकारी दिए । 

‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि राप्रपा नेपालले विचार मिल्ने शक्तिसँग संवाद, सहकार्य गर्ने नीति लिएको छ । सोही अनुरूप विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग छलफल भएको हो’, श्रेष्ठले भने । भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जाने सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको श्रेष्ठले जानकारी दिए ।

दुई पार्टीका नेताहरूको भेटको तस्वीर फेसबुकमा राख्दै विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा 'आशाजनक संवाद' भएको उल्लेख गरेका छन् ।

मिश्रले फेसबूकमा लेखेका छन्,

‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद !आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवल शमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’

हेर्नुहोस्, रवीन्द्र मिश्रको स्टाटस :

मिश्रले विचारभन्दा माथि देश भन्ने दस्तावेज तयार पारेर संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाउँदै आएका छन् । उनले यी दुई विषयमा जनमत संग्रह हुनुपर्ने माग अघि सारेका छन् ।