काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) को ८ औं राष्ट्रिय महाधिवेशन एकदिन बढी लम्बिने भएको छ ।
आज बसेको माओवादीको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति एकदिन बढाएको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । सुरुमा राष्ट्रिय सम्मेलन गर्ने भनेको माओवादीले शनिवार सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । पुस ११ गतेदेखि १५ गतेसम्म गर्ने भनिएको महाधिवेशन अब पुस १६ गतेसम्म संचालन हुने भएको हो ।
यस्तै महाधिवेशनको जारी बन्द सत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहालको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक रुपमा छलफल भइरहेको छ ।
सम्मेलनको समूहगत छलफल भोली दिउँसो १ बजेसम्म सक्ने र त्यसपछि बन्द सत्रमा सुझावहरू पेस गर्दै आगामी शुक्रबार महाधिवेशनका सबै काम पूरा गर्ने नेता पौडेलले बताउनुभयो । माओवादीको जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।००००

