काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै कारण मुलुकमा गणतन्त्र आएको दाबी गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन भने बाँकी रहेको बताउनुभयो ।
केहि प्रतिगामी शक्तिका कारण संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता महत्त्वपूर्ण उपलब्धि धरापमा पर्ने आशंका उत्पन्न भएको उहाँको भनाई थियो । अध्यक्ष यादवले संविधान जारी हुँदा देशको आधा जनसंख्याले बत्ती निभाएको स्मरण गराउँदै उहाँले ती जनसमुदायको भावनालाई समेत समेटेर संविधान संसोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संसदलाई अवरुद्ध गरेर केही उपलब्धि नहुने दाबी समेत गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संविधान जारी भएको ५ वर्षभन्दा बितिसक्दा पनि मधेसका माग सम्बोधन नभएको गुनासो गर्नुभयो । संघीयता र समावेशीकरणको मुद्दामा उचित तरिकाले सम्बोधन नभएसम्म माओवादी आन्दोलन र जनयुद्धको मर्म पूरा नहुने उहाँको भनाई थियो ।
यस्तै, नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादी र कम्युनिष्ट पार्टीहरूबीच एकताको खाँचो रहेको बताउनु भएको छ । उहाँले पुराना माओवादीहरू एकताबद्ध हुनुपर्छ भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा आफूहरू सकारात्मक रहेको बताउनु भएको हो । पूर्वमाओवादीहरू एकताबद्ध हुने हो भने जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकको निर्णय पुनःस्थापित गर्नुपर्ने बताउनुभयो । अहिले चर्चामा रहेको राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्र्नुपर्नेमा उहाँको जोड थियो ।

