काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमालेले संसदीय मूल्य, मान्यता र अभ्यासलाई नै सिध्याउन खोजेको आरोप लगाउनु भएको छ ।

आज प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएसँगै सभामुख सानुकुमार श्रेष्ठसँग विशेष समय लिएर बोल्दै पाण्डेले एमालेले संसदीय मूल्य, मान्यता, नियमावाली र अभ्यासविरुद्ध अगाडि बढेको आरोप लगाउनु भएको हो ।

उहाँले आफू अस्वस्थ भएको अवस्थामा पनि सदनमा विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिन उपस्थित हुँदा प्रमुख प्रतिपक्षी दल सदनमा अनुपस्थित भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलप्रति लक्षित गर्दै १२ सय ९० दिन मुख्यमन्त्री हुनेले ५६ दिन मुख्यमन्त्री हुनेसँग प्रगति विवरण सोध्न नमिल्ने जिकिर समेत गर्नुभयो।

उहाँले प्रदेश सरकारसँग जम्मा ५७ अर्बको बजेट रहेकाले १८ अर्बको सुरुङ मार्ग मात्रै निर्माण गर्न कठिन हुने प्रष्ट पार्नुभयो । स्तरीय सडक र चार्जिङ स्टेशन नभएसम्म विद्युतीय बस सञ्चालन गर्नु जनकपुरको रेललाई त्रिपाल ओढाएर राख्नु सरह हुने उहाँको भनाई थियो । आफ्नो नेतृत्वको सरकारमाथि लागेको आरोपको उत्तर दिन खोज्दा सभामखुले उक्त विषय कार्यसूचीबाट हटाएको भन्दै मुख्यमन्त्री पाण्डेले आक्रोश व्यक्त गर्नु भएको थियो ।०००