काठमाण्डौ । सत्तारुढ ५ दलीय गठबन्धनले एमसीसीबारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहनु भएको छ ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न ३ नेतालाई जिम्मेवारी दिएको हो ।

कार्यदलले एमाले लगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने बताइएको छ ।

३ सदस्यीय कार्यदल गठन लगत्तै आइतबार बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । उत्त बैठकमा काँग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका थिए ।

सर्वदलीय बैठकमा डाकिएपनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो । गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको बताइएको छ ।००००