काठमाण्डौ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेको छ ।
आज बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धक नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।
सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष निकालेको छ ।
यस्तै बैठकले एमसीसीबारे छलफल गर्न फेरि बैठक बस्ने निष्कर्ष निकालेको छ । बैठकमा एमसीसीबारे छलफल भए पनि कुनै सहमति नभएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । एमसीसीबारे केही दलहरुको आशंका रहेकाले फेरि छलफल गरेर निष्कर्षमा पुगिने उहाँले बताउनुभयो ।००००

