काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
संसदमा जारी गतिरोध अन्त्यका लागि छलफल गर्न बैठक बोलाइएको बताइएको छ । हिजो बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।
सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ । त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुले एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने बताउदै आएका छन् ।
यसैबीच, प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ ।एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताउनुभयो । तर अहिलेसम्म सर्वदलीय बैठक आह्वान सम्बन्धमा पत्र प्राप्त नभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।००००

