काठमाडौं। वागमती प्रदेशका नवनियक्त मन्त्री र राज्‍यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्‍यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् । मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् । कांग्रेस सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुंग्याउन नसकेको नेताहरुले बताएका छन् । हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले मकवानपुरका पत्रकारहरूलाई गेटबाहिर नै राखेर मन्त्रीहरूको शपथ ग्रहण गराउनुभयो । सरकारी मिडियाबाहेकका मिडियालाई प्रदेश प्रमुखको गेटबाहिर नै राखेर मन्त्री र राज्यमन्त्रीहरूको शपथ ग्रहण भएकाे हो । पत्रकारलाई बाहिर राखेर शपथ ग्रहण नगर्ने भनेर नवनियुक्त मन्त्रीहरूले भन्दा पनि अटेर गर्दै प्रदेश प्रमुखले पत्रकारलाई गेट भित्र छिर्न नै नदिएर शपथ ग्रहण गराउनुभएको हो ।