काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष भएर बस्न सुझाव दिनुभएको छ । 

आज काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक गर्दै अध्यक्ष नेपालले पुर्वराजालाई राजनीतिक गर्न मन लागे नयाँ पार्टी खोल्न वा राजेन्द्र लिङ्देनलाई अध्यक्ष मानेर राप्रपाको उपाध्यक्ष भएर बस्न सुझाव दिनुभएको हो । अध्यक्ष नेपालले राजतन्त्रलाई यसअघि हटाए पनि पुनः फर्काउने कोशिश भइरहेको भन्दै नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्ने जिकिर गर्नुभयो ।इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै उहाँले इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उल्लेख गर्नुभयो । 

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादले लोकतन्त्रको मूल्य–मान्यतालाई आत्मसात् गर्ने भएकाले कम्युनिस्टलाई अधिनायकवादी भन्न नमिल्ने तर्क गर्नुभयो । कार्यक्रममा अनेरास्ववियुको सदस्यता वितरण अभियानको पनि शुभारम्भ गरिएको थियो ।०००००