काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्ष पदाधिकारी थप गर्ने प्रस्तावबाट पछि हटेको छ ।

१४ औं महाधिवेशनअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस नभएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसको बैठकले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।  सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सांगठानिक प्रतिवेदन पेस गर्नुभएको थियो । उक्त प्रतिवेदन केही रायसहित पारित गरिएको शर्माले जानकारी दिनुभयो ।

त्यस्तै कोषाध्यक्षका तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेस भएर पारित भएको छ । प्रतिवेदनअनुसार कांग्रेससँग हालसम्म १० करोडभन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको । नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस भएर पारित भएको छ । विभिन्न समयमा आवश्यकता अनुसार गरिएको विधानको परिमार्जन, संशोधन लगायतका विषय पनि बैठकबाट अनुमोदन भएको छ । बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न प्रस्ताव भने नआएको प्रवक्ता शर्माले बताउनुभयो ।

तेस्रो पुस्ताका नेताहरूलाई मिलाउन सहमहामन्त्रीको संख्या थप्न छलफल सुरु भएको थियो । संस्थापन समूह र संस्थापनबाहेक समूहमा आगामी महाधिवेशनबाट केही सहमहामन्त्री थप्ने गरी विधान संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ।कांग्रेसको विधानमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ जना सहमहामन्त्री र एक जना कोषाध्यक्ष मनोनीतगरी १४ जना पदाधिकारी रहने व्यवस्था छ ।००००