काठमाडौँ । सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु भएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले बिहान ११ बजे मतदान सकिएपछि मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुरु भएको जानकारी दिए ।
दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको दाहालले जानकारी दिए । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।
एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए ।
महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

