काठमाडौं। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बरिष्ठ उपाध्यक्ष पदका लागि रस्साक्सीमा लागेका पूर्व सभामुख सुवास चन्द्र नेमवाङले अन्तत उपाध्यक्षका लागि मनोनयन दर्ता गराएका छन्। उनले पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा मनोनय दिएको जनाएका हुन्।
मनोनयन दर्ता गरापछि उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भनेका छन् " वरिष्ठ उपाध्यक्षमा दाबी गरेको होइन । सबैले उठ भनिरहेका छन्, त्यसैले चुनावमा उठ्नुपर्यो भने वरिष्ठ उपाध्यक्षमा उठ्छु भनेको थिएँ । तर त्यतिबेला नै मैले भनेको थिएँ, यो पार्टीका लागि यतिबेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य छ। केपी ओलीलाई अध्यक्षमा राखेर उहाँको वरिपरि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ । तर त्यसो गर्ने प्रयास गर्दागर्दै पनि निर्वाचन हुने परिस्थिति भयो भने शुभचिन्तकहरूले सल्लाहले म निर्वाचनमा जान्छु भनेको थिएँ ।
सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्यो । र, मलाई पार्टीले आदेश दियो, अध्यक्ष कमरेडले राख्नु भएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास गर्यो, त्यो प्रो प्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनियो । मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु, तर पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको छु।"

