काठमाडौँ । नेकपा माओवादी केन्द्र रामेछापको गोकुलगंगा गाउँपालिका गाउँकमिटीको  अध्यक्षमा इन्द्रबहादुर तामाङ (बिशाल) निर्विरोध चयन भएका छन् ।

शनिबार भएको गाउँपालिकाको प्रथम अधिवेशनबाट तामाङ अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन । माओवादी केन्द्रको केन्द्रीय निर्देशन अनुसार मंसिर ११ गते देशैभरि एकै पटक स्थानीय तहको पहिलो पार्टी अधिवेशन सम्पन्न भएको छ । केन्द्रको निर्देशन अनुसार गोकुलगंगामा पनि निर्धारित समयमा नै सम्मेलन भएको छ । उक्त सम्मेलनबाट लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर पार्टी काममा सक्रिय तामाङलाई पालिका अध्यक्षको जिम्मेवारी दिएको हो ।

तामाङ माओवादी केन्द्रसँग युद्धकालिन समयदेखि नै आवद्ध हुँदै आएका छन् । उनी युद्धकालिन अवस्थामा विभिन्न पद तथा पार्टीले सञ्चालन गरेको सञ्चार क्षेत्रमा समेत क्रियासिल भएका थिए । त्यस्तै उनी अखिल(क्रान्तिकारी) रामेछाप जिल्ला समितिको १६ औँ जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष भएका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता भएर बनेको नेकपा गोकुलगंगा गाउँपालिका समितिको कार्यलय सदस्यको जिम्मेवारीमा रहेका तामाङ पुनः एमाले र माओवादी विभाजन भएपछि भने माओवादी केन्द्रको अध्यक्ष चयन भएका छन् । युवा उद्यम व्यवसायीसमेत रहेका तामाङले पछिल्लो समय रामेछाप जिल्लाको उदाउँदो युवा नेताको रुपमा आफूलाई स्थापित गरेका छन् ।