काठमाण्डौ । नेकपा (एमाले) को १०औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

महाधिवेशनको तयारीबारे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी विहीवार रातिसम्म सबै काम पूरा हुने जानकारी दिनुभयो । भोली हुने उद्घाटन सत्रमा चितवनको सार्वजनिक यातायात रोक्नेबारे कुन छलफल नभएको एमालेले प्रष्ट पारेको छ । महाधिवेशनमा २१ सय ७५ जना प्रतिनिधि सहभागी हुने जानकारी पनि उहाँले गराउनुभयो । १२ गते हुने मतदानका लागि भोलिबाट नै निर्वाचन आयोगले काम थाल्ने उहाँले बताउनुभयो ।

दशौं राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित निश्चित भएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज नेकपा एमाले विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरु महाधिवेशनमा उपस्थित हुने निश्चित भएको जानकारी दिएको हो । यसका साथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई निमन्त्रणा गरिएको एमालेले जनाएको छ ।

हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागि हुने जानकारी गराउनुभएको एमाले दशौं राष्ट्रिय महाधिवेशन अतिथी सत्कार समितिले जनाएको छ ।००००