चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल चितवनमा सम्पूर्ण तयारी हुनेबेला चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला प्रतियोगिता आयोजना गरिएको हो।

दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने होटल सेभेन स्टारको करिब २०० मिटर लामो पर्खालमा कलात्मक चित्र कोर्दै करिब ५७ कलाकारले सहभागिता जनाएका छन्। "समृद्ध नेपाल सुखी नेपाली" को सपना झल्काउने गरी आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका कलाकारले भाग लिएका हुन् । वि. सं. २०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिङ्कका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपाली अवधारणामा चित्रहरू कोरिएको बताएका छन्।

प्रतियोगितामा कलाकारहरूले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघ सहितका चित्रहरू कोरेको देख्न सकिन्छ। यस प्रतियोगितामा उत्कृष्ट हुनेलाई दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले पुरस्कृत गर्ने आयोजकले जनाएको छ।