बाँके। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेसलाई कटाक्ष गर्दै एमालेसँग एक्लै चुनाब लड्न चुनौति दिएका छन्। अध्यक्ष ओलीले नेपालगन्जमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्ने क्रममा त्यस्तो चुनौति दिएका हुन्।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसलाई प्रश्न गरे, ‘नेपाली कांग्रेसलाई म सोध्न चाहन्छु– एमालेसँग एक्लै लड्ने दम छ ?’ काङ्ग्रेस कुर्सीको पछि लागेको आरोप लगाउँदै प्रधानमन्त्रीको कुर्सीका लागि बीपीको सिद्धान्त बिर्सिएको ओलीको भनाई रहेको छ। उनले भने ‘कहाँ छ कांग्रेसमा बीपीको सिद्धान्त ? उसलाई प्रधानमन्त्रीको कुर्सी पायो भइहालेको छ,’ अध्यक्ष ओलीले भने, ‘कांग्रेस एक्लै हिँडिरहेको छैन। नेपाली कांग्रेस अहिले चार वटा बैशाखी टेकेर हिँडेको छ।’
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी कार्यकर्तालाई आफ्नो पार्टीमा समाहित हुन आह्वान गरे। उनले देउवाको पंखा हम्काएर बस्ने प्रचण्डको पछाडि लागेर केही नहुने समेत बताए। ओलीले एमाले अब विवादरहित ढंगले जनताको काम गर्दै अघि बढेको बताए। ‘एमालेमा अब अहंकार भएको मान्छे छैनन्,’ माधव नेपालको नाम नै नलिएर ओलीले भने, ‘केपी ओलीलाई भेट्दिनँ भन्ने अनि मुसा बनेर खुर्ररर बुढानीलकण्ठ जाने । यस्तो कुलंगार प्रवृत्ति हटेको छ ।’ भन्दै आफ्नो पार्टीमा प्रवेश गर्न आह्वान गरेका हुन्।

