सप्तरी। जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसंख्याको आधारमा राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्। कञ्चानपुरको जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले जनसंख्याको आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्ने बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लैजान अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताए। उनले संविधानमा गरिएको समावेशी सिद्धान्तबमोजिम मधेसी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भए पनि ब्यबहारमा भेदभाव गरिएको बताएका छन्। उनले भूमि व्यवस्था वैज्ञानिक नभएसम्म किसान आर्थिकरुपले सबल हुन नसक्ने भन्दै यसका लागि आफ्नो पार्टीले प्रयत्न जारी राखेको बताएका छन्।
देशमा लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको बताउँदै उनले मधेसमा ठुलो जनसङ्ख्या अहिले पनि नागरिकताबाट वञ्चित रहेको बताउँदै उनले उनीहरूलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन गर्नुपर्ने बताए ।

