कोरोना सङ्क्रमितलाई नि:शुल्क उपचार नगर्ने अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कारबाही गर्ने जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सबै अस्पतालहरुलाई कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गर्ने सम्बन्धमा परिपत्र गरी निर्देशन दिइसकेको र सो अनुसार नगरे नियमानुसार कारबाहि हुने जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमितहरुको उपचारवापत अस्पताललाई सरकारले अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश-२०७७ परिमार्जन गरी मन्त्रालयले कोरोना सङ्क्रमितहरुको उपचारका लागि सूचीकृत अस्पताललाई लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । सङ्क्रमितहरुको उपचार गरेवापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने भएको छ ।
त्यस्तै, सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

