जनता समाजवादी पार्टी (जसपा) प्रति नेपाली जनताको आकर्षण बढ्दै गएको छ । शनिबार काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३५५ जनाभन्दा बढी नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।
ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काठमाडौ लगायत विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरु एकसाथ जसपामा प्रवेश गरेका हुन् । शनिबार प्रवेश गर्नेमा ओखलढुंगा जिल्लाको मात्र २०० जनाभन्दा रहेका छन् ।
नवप्रवेशीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले सदस्यता पत्र प्रदान गरेका थिए भने वरिष्ठ नेता अशोक राईले खादा लगाइदिएका थिए त्यसैगरी राजेन्द्र श्रेष्ठले अविर लगाइदिएर स्वागत गरेका थिए ।
जनता समाजवादी शेर्पा संघ र ओखलढुंगा–काठमाडौं सम्पर्क समितिले आयोजनामा भएको उक्त पार्टी प्रवेश कार्यक्रम निकै भिडभाडयुक्त बनेको थियो । तर कार्यक्रममा कोभिड–१९ बाट बच्नका लागी आयोजकबाट मास्क र सेनिटाइजरको ब्यबस्था गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विभिन्न जाति र समुदायको पहिचान नामेट पार्न राज्य नै सयौ वर्षदेखि लागिरहेकोले आफ्नाे अस्तित्व बचाउन पहिचानको आन्दोलनमा लाग्न आग्रह गरे । उनले पहिचानसहितको संघीयताले मात्र नेपालको विविधतालाई सम्बोधन गर्ने बताए । उनले नेपालका सबै जाति र समुदायको भाषिक, सांस्कृतिक पहिचानको माग सम्बोधन गर्न सके मात्र राष्ट्रिय एकता बलियो हुने बताए ।
कार्यक्रम जनता समाजबादी शेर्पा संघको अध्यक्ष छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

