काठमाडौं। राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि जेठ ६ गते हुने आज मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ११ अनुसार उम्मेदवार बन्न संघीय कानूनले अयोग्य नभएको तथा लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ । उम्मेदवार बन्न एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य हुनुपर्नेछ । उम्मेदवारले धरौटीवापत १० हजार रुपैयाँ शुल्क समेत बुझाउनुपर्नेछ ।

राजनीतिक दलका तर्फबाट मनोनयन दर्ता गर्नेले दलको आधिकारिक व्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्नेछ । राजनीतिक दलका उम्मेदवारले सम्बन्धित दलको र स्वतन्त्र उम्मेदवारले तोकिए बमोजिमको चुनाव चिन्ह पाउनेछन् ।राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको र उनलाई  एमालेको माधव नेपाल पक्षको समेत समर्थन रहेको   बताइएको छ ।