काठमाडौं। प्रशासक, गीतकार, कवि तथा सर्जक अपरदीप सुनुवारको सुनुवार भाषाको गीत "टुङ्ना ताप्स्यो" सार्वजनिक भएको छ । सुनुवारले गत शुक्रबार राजधानीको सिनामङ्गल स्थित ए-वान पार्टी प्यालेसमा एक समारोहकाबीच सुनुवार भाषाको गीत "टुङ्ना ताप्स्यो" सार्वजनिक गर्नु भएको हो ।
गीतका रचनाकार अमरदीप सुनुवारले म्युजिक भिडियो सहितको "टुङ्ना ताप्स्यो" सार्वजनिक समारोहमा बोल्नु हुँदै सुनुवार भाषाको गीतले सुनुवार भाषा र संस्कृतिको संरक्षणप्रति पनि सकारात्मक सन्देश दिने र यसले अन्य भाषाभाषिहरूलाई समेत प्रेरणा मिल्ने बताउनु भयो । गीतले सुनुवार भाषालाई मात्र नभई सिङ्गो सुनुवार समुदायको जीवनशैली, भावना र संस्कृति झल्काएको र यसले हाम्रो भाषा, पहिचान र संस्कृति जोगाउने बताउनु हुँदै उहाँले भन्नु भयो "नयाँ पुस्तालाई आफ्नो भाषा र संगीतप्रति गर्व गर्न प्रेरणा मिलोस् भन्ने चाहना छ। भाषा मरे संस्कृति मर्छ, त्यसैले गीत, सङ्गित र कला मार्फत् हामी आफ्नो पहिचान बचाइरहेका छौँ ।’
"टुङ्ना ताप्स्यो" सार्वजनिक समारोहका प्रमुख अतिथी वरिष्ठ सङ्गितकार शान्तिराम राईले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै "पछिल्लो युवा पुस्तामा आफ्नो मातृभाषा, संस्कार र सस्कृतिप्रति निकै चासो र अभिरुची राख्ने गरेको र त्यसैको फलस्वरुप टुङ्ना ताप्स्यो सार्वजनिक भएकोमा गर्वानुभुति भएको छु। यस किसिमका रचना, सिर्जनाले समग्र मातृभाषि, किराती सभ्यताको उजागर गर्ने र गितका रचनाकारको थप अन्य सिर्जनाहरू आउने विश्वास राखेको छु ।"
गीत सार्वजनिक कार्यक्रममा गीतकार सङ्घका वसन्त वित्यासी थापाको अध्यक्षता रहेको थियो । उहाँले सुनुवार भाषामा आएको यस प्रकारको सिर्जनालाई नेपाली साँगीतिक क्षेत्रका लागि सकारात्मक उदाहरणीय प्रयास भन्दै स्वागत गर्नुभएको छ। उहाँका अनुसार यस्ता सिर्जनाले बहुभाषिक समाजमा भाषिक विविधता र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको बताउनु भयो।
सुनुवारको टुङ्ना ताप्स्यो गीतमा रामकुमार पौडेलको सङ्गित र कल्पना सुनुवारको स्वर रहेकाे छ। यस गीतको निर्माण पी.आर. प्रोडक्सनले तयार गरेको छ। युट्युव मार्फत् सार्वजनिक भएको गीत अमरदीप सुनुवार अफिसियल युट्युव च्यानलमा हर्न सकिन्छ ।
गृह मन्त्रालयका उपसचिवसमेत रहनु भएका सुनुवारले आँगनीमा नाच चरी बोलको बाल गीत, लिखु नदीको तिरैतिर, चुलीवन शीरमा उनेको जस्ता गीतहरू सार्वजनिक गरिसक्नु भएको छ, भने उनको कविता सङ्ग्रह "पृथ्वीको स्वेतपत्र" सार्वजनिक भईसकेको छ।