काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार बिहान सुनधारास्थित आयोजित एक कार्यक्रमबीच पुनर्निमित धरहराको उद्घाटन गरेका हुन्।
२०७२ सालको भूकम्पमा भत्किएको धरहरा पुननिर्माणको लागि २०७५ पुस १२ गते शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय पुनर्निर्माणको जिम्मा पुनर्निमाण प्राधिकरणलाई दिएका थिए। पुनर्निमाण प्राधिकरणले ३ अर्ब बढी लागतमा निर्माण गरेको हो।
के छ नयाँ धरहरामा?
१. एघार तलाजस्तो देखिए पनि भित्री संरचना २२ तलाको छ, २० औँ तलामा बालकोनी सहित उपत्यकाको अवलोकन गर्न सकिने,
२. उचाई जमिनको सतहबाट ८३.८५ मिटर,
३. दुई तले अन्डरग्राउण्ड, दुईवटा लिफ्ट मार्फत माथी जान सकिने,
४. वि.सं. २०७२ सालको भुइचालोमा भत्किएको धरहराको भग्नावशेषलाई सुरक्षित सङ्ग्राहलयको रुपमा राखिएको,
५. चारपाङ्ग्रे सवारी ३ सय र २ पाङ्ग्रे सवारी ७ सय क्षमताको अण्डरग्राउण्ड पार्कीङ्,
६. बाह्रै महिना पानी आउने सुनधाराको पुनर्निमाण,
७. वि.सं. १९९० सालको भुइचालोअघि धरहरा ११ तलाको थियो, सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको ।
वि.सं. २०७२ सालको भुइचालोले नराम्रोसँग क्षतविक्षत बनाएको धरहरा विभिन्न समयमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरूलाई पुनर्निमाण गर्न दिइने चर्चा चले पनि प्रधानमन्त्री केपी शर्मा ओली आफू प्रधानमन्त्री भएपछि "मेरो धरहरा मै बनाउँ" भन्ने अभियान सुरु गरेका थिए।
धरहराको ऐतिहासिता:
महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले वि.सं. १८८२ मा धरहरा बनाउन लगाएका थिए। सुरुमा ११ तले बनेको धरहरा वि.सं. १९९० सालको भूकम्पले भत्किएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमसेरले ९ तला रहने गरी पुनर्निर्माण गराएका थिए।
पुनर्निमित धरहरा उद्घाटन पश्चात प्रधानमन्त्री केपी ओलीले ट्वीटरमार्फत भनेका छन् "आज हामीले ऐतिहासिक पुनःनिर्मित धरहराको भब्य उद्घाटन गरेका छौँ । यस क्षणमा म अत्यन्त हर्षित छु । हर्षको यस क्षणमा म सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक बधाई दिन चाहन्छु । दिनरात खटेर सफलताको यस बिन्दुसम्म ल्याइपुर्याउनुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु।"

