बुटबल। नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली अब पनि सत्तामा रहीरहे भने देश ठूलो दुर्घटनामा पर्ने बताएका छन्। पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सोमबार बुटवलमा सम्मान गर्दै नेता खाँणले ओलीलाई लामो समय सत्तामा राखीरहनु देशको भविष्य बर्बाद गर्नु भएको बताएका हुन्।

नेता खाँणले प्रम ओलीले देश र संविधानलाई अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुर्‍याएको भन्दै अब उनलाई धेरै समय सत्तामा टिकाइ राख्न नहुने बताए। ओलीलाई बस चलाउने ढंगै नभएका सबैभन्दा मुर्ख ड्राइभर भएको भन्दै उनले चर्को आलोचना गरे। ‘जसले ब्रेक थिच्ने बेला एक्सिलेटर थिच्छन्, एक्सिलेटर बटार्ने बेला क्लज दबाउँछन्। भित्र र छतमा टन्नै यात्रुले भरिएको बस ओलीले कतिबेला खोल्सामा लगेर फाल्ने हुन भन्ने त्रास झन् झन् बढेको छ’ नेता खाँणले भने।

संविधान र लोकतान्त्रिक मूल्य, मान्यताको रक्षाका लागि नेपाली काँग्रेसले सुझबुझका साथ उचित समयमा उचित कदम चाल्ने पनि नेता खाँणले बताए। ओली सरकार इतिहासकै निकम्मा, अलोकतान्त्रिक र निरकुंश भएको उल्लेख गर्दै उनले त्यसको पतन पनि छिट्टै हुने दावी गरे। कोरोनाको महामारी फेरि बढ्ने क्रममा रहेको भन्दै नेता खाँणले परीक्षणको दायरा बढाउन, संक्रमितको उपचारको भरपर्दो व्यवस्था गर्न र सीमानाका हुँदै आएकालाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न पनि माग गरे।