काठमाडौं। 'अनअफिसियल ट्रान्सलेसन' डकुमेन्टलाई आधार बनाई प्रधानमन्त्री के.पी. ओली र भारतिय रअबीच भएको सहमति भनी भ्रमपूर्ण समाचार प्रकाशन गर्ने अनलाइन सञ्चारमाध्यमले सार्वजनिक रुपमा माफी मागेको प्रेस काउन्सिल नेपालले जनाएको छ। प्रेस काउन्सिल नेपालले बैशाख ३ गते २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा ति अनलाइन सञ्चारमाध्यमहरूले आईतबार सार्वजनिक रुपमा क्षमा मागेको काउन्सिलले जनाएको हो।
ती अनलाइन सञ्चारमाध्यमहरूले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(२), ४(६) र ५(१) उलङ्घन भएकोमा समाचार प्रकाशन गरेकोमा प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको थियो।
प्रेस काउन्सिल नेपालले आईतबार एक विज्ञप्ति जारी गर्दै गलत समाचार प्रकाशन गर्ने सात वटै अनलाइन सञ्चारमाध्यमले आगामी दिनमा आचार संहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै विवादास्पद सामग्री हटाइ काउन्सिलमा उपस्थित भएर क्षमायाचनासहित स्पष्टिकरण पेस गरेको जनाएको छ। स्पष्टीकरण पेस गर्ने अनलाइन सञ्चारमाध्यमहरूमा उज्यालो नेटवर्क डटकम, समाचार दैनिक डटकम, नेपाली गाथा डटकम, पर्दाफास डटकम, पिएलए खबर डटकम, कान्तिपथ डटकम र सुदर्शन खबर डटकम रहेका छन् ।
विज्ञप्ति मार्फत प्रेस काउन्सिल नेपालले 'पत्रकार आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आचारसंहिता जागरण एवं सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनका साथै काउन्सिलले दिने सेवासँग आचारसंहिता अभिमुखिकरण आबद्ध गर्दै लैजाने' भन्ने निर्णयानुसार ती अनलाइन सञ्चारमाध्यमका सञ्चाल र सम्पादकलाई अभिमुखिकरण गराउने जनाएको छ।
त्यस्तै, प्रकाशित समाचारको विषयलाई लिएर सुरक्षा संयन्त्रबाट सम्पादक तथा सञ्चारमाध्यमको कार्यालय खानतलासी गरी धम्की दिएको गुनासो काउन्सिलमा आएकाले सो विषय प्रति काउन्सिलको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा लेखिएको छ 'सञ्चारमाध्यामबाट सम्प्रेषित समाचारका विषयमा चित्त नबुझेमा त्यसको निरुपण गर्ने निकाय नेपाल प्रेस काउन्सिल हो। काउन्सिलले आचारसंहिता प्रतिकूलका यस्ता समाचार तथा सामग्रीको अध्ययन, अनुसन्धान गर्नुका साथै पत्रकार आचारसंहिताको परिधिभित्र रही कारबाही गर्ने गरेको छ।'
प्रेस स्वतन्त्रता विरोधी गतिविधि गरिनु संविधान र कानून विपरित हुने भन्दै स्वाच्छ, निष्पक्ष र मर्यादिन पत्रकारिताको लागि काउन्सिल क्रियाशील रहेको विज्ञप्ति मार्फत जनाएको छ।
प्रेस काउन्सिलद्वारा जारी विज्ञप्ति:

