काठमाडौं। सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बालुवाटार स्रोतका अनुसार फागुन २३ गते संसद्को हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन डाक्न फागुन १२ गते परमादेश जारी गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन सिफारिस गरेका थिए भने, सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन्।प्रतिनिधि सभा विघटनका कारण छ महिनाभित्रै संसद् अधिवेशन बस्नुपर्ने संवैधानिक व्यवस्था मिचिएको भन्दै अदालतले १३ दिनभित्र अधिवेशन बोलाउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रतिनिधि सभा सचिवालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा समेतका नाममा परमादेशको आदेश जारी गरिसकेको छ।
संविधानको धारा ९३ (१) मा ‘एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुने छैन’ भन्ने उल्लेख छ।
-यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ।

