काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ओली समूहको स्थायी समिति बैठक भोली पनि बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले चार वटा निर्णय गर्दै भोली पनि बैठक बस्ने भएको हो।

नेकपा ओली समूहका प्रवक्तासमेत रहेका प्रदीप ज्ञवालीले आजको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय भएको जनाएका छन्। उनले सर्वोच्चको हिजोको फैसलाबारे पनि हाम्रा केही गम्भीर प्रश्नहरू रहे पनि सर्वोच्चको फैसलालाई सम्मान गर्ने जनाएका छन्। आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ। साथै, प्रवक्ता ज्ञवालीले यसअघि निर्धारण गरिएका देशभर हुने कार्यक्रमहरूलाई निरन्तरता दिने र आफूहरूले स्थानीय अनुकूलताअनुसार स्वरूप परिवर्तन होला तर हामीले जनतालाई बुझाउन खोजेको कुरा बुझाएरै छाड्ने बताएका छन्।

त्यस्तै, स्थायी कमिटि  बैठकले बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय गरेको छ।