काठमाडौं। पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।  बुधबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथ मन्दिरमा सरकारको नाममा जलहरी राख्ने कार्य नगर्न अन्तरिम आदेश दिएको हो।

पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष एवं वागमती प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले जलहरी राख्ने कार्य विरुद्ध रिट दायर गरेका थिए। साथै सर्वोच्चले वादी र प्रतिवादीलाई आगामी फागुन १७ गते छलफलका लागि डाकेको छ।

तर, आजै राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरीसकेपछि, पशुपति क्षेत्र विकास कोषले अदालतको आदेश आउनुअघि नै जलहरी राखिसकेको छ।