रामेछाप। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी माघ २३ गते काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शनमा नेकपा रामेछाप जिल्ला कमिटीले ३ हजार कार्यकर्ता उतार्ने जनाएको छ। नेपाल-प्रचण्डले यसअघि गरेको सभालाई चुनौती दिन आयोजित जनसभामा रामेछापको आठवटै स्थानीय तहबाट तीन हजार कार्यकर्ता काठमाडौं लैजाने भएको हो।

नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जिल्लाबाट तीन हजार कार्यकर्ता काठमाडौं लैजाने तयारी थालिएको बताए। उनले रामेछापस्थित जनचासो सहकर्मीसँग तीन हजार कार्यकर्ता काठमाडौं लैजाने र ल्याउने योजना रहेको जनाए। साथै ल्याउने लैजाने खर्च सम्बन्धित गाउँपालिका र नगर कमिटीले बेहोर्ने र नपुग भए जिल्ला कमिटीले व्यवस्थापन गर्ने जनाएका छन् ।