सिन्धुली । महाभारत डाँडैडाँडा डिपिआर गरिएको कृषि सडकको मार्ग परिवर्तन गरिएको भन्दै स्थानियहरुले आज सुनकोशी गाउँपालिका घेराउँ गरेका छन् ।

सुनकोशी गाउँपालिकाको वडा २, ४, ५ र ७ का स्थानियहरुले आज गाउँपालिकामा बिरोध जनाएउँदै ढुङ्गामुढा गरेका हुन् । करिब २२ बर्ष अगाडि सरकारले वि.पि. राजमार्गको सोलाभञ्ज्याङ्ग-नागी-बन्दिपुर-काफ्लेचौर हुँदै काभ्रेको तालढुङ्गा जोड्नेगरी कृषि सडकको सर्भे गरिएको स्थानियले बताएका छन् ।

आफ्नो गाउँमा परेको बजेट आफुहरुलाई थाहा नै नदिई अर्को गाउँमा लैजाने सडकको डिपिआर सार्वजनिक भएकाले स्थानियहरु आक्रोसित भएका हुन् । आक्रोसित भएका स्थानियहरुले आज बिहान १० बजेबाट दिउँसो २ बजेसम्म गाउँपालिका अगाडि धर्ना दिएका हुन् ।

करिब २ हजार ५ सय जना स्थानियहरु जम्मा भएर पर्दा पछाडि गरिएको डिपिआर खारेज गर ! अशिक्षित जनतालाई झुक्याएर गरिएको डिपिआर खारेज गर । हाम्रो गाउँको लागि आएको बजेट अन्त जान दिँदैनौ लगायतको नाराबाजी गरेका थिए ।

प्रदेश सरकारको ४७ करोड सहयोगमा सोलाभञ्ज्याङ्ग-नागी-बन्दिपुर-काफ्लेचौर हुँदै काभ्रेको तालढुङ्गा जोड्ने गरी कृषि सडकको सर्भे भएपनि अहिले नागी-मझुवा-गैह्रीगाउँ-गाउँखर्क अमारेसम्म विस्तृत परियोजना प्रतिवेदन बनाई डिपिआर तोडमोड गरिएकाले आन्दोलन गर्न बाध्य भएको सुनकोशी ५ का निर स्याङ्बोले बताउनु भयो ।

अहिले निर्माण भइरहेको बजेट तल्लो भेगकै सडकका लागि आएकाले निर्माण भइरहेको बागमती प्रदेशसभा सदस्य विनोद खड्काले बताउनुभयो । गाउँपालिकाले दुवै तर्फको बाटो निर्माणका लागि समन्वयकारी भुमिका खेल्ने गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।

यता गाउँपालिकाका उपाध्यक्ष दिर्ब सिङ मोक्तानले भने उक्त डिपिआर सार्वजनिक भएको आफुलाई थाहा नभएको बताउनु भयो । उक्त कृषि सडक प्रदेश सरकार अन्तर्गत विनियोजित भएकाले स्थानीय सरकारको चासोको विषय नरहेको बताउनु भयो । उहाँले सुनकोशी गाउँपालिकाको हरेक ठाउँको विकास चाहने बताउँदै जुन ठाउँको विकासको लागि आएको बजेट हो त्यसै ठाउँको विकासका लागि खर्चिनु पर्ने बताउनु भयो । त्यसको लागि उहाँले सम्बन्धित निकायलाई खबरदारी गर्नका लागि गाउँपालिका तयार रहेको बताउनु भयो । स्थानीय बासीले गाउँपालिकाका उक्त विषयमा सम्बन्धित नरहेको सिफारिसको माग गरेका छन् ।