काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी दुई ध्रुबमा बिभाजित भए पश्चचात आफ्नो आधिकारिकता पुस्ट्याउन दुवैदल निर्वाचन आयोग पुगेको थियो । तर, निर्वाचन आयोगमा पेश भएका प्रमाणहरूको आधारमा यी दुई समूहमा विभाजित नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले अलग अलग मान्यता दिन नसक्ने भएको छ ।

निर्वाचन आयोगमा परेको निवेदन उपर आयोगले दुवै पक्षसँग सवाल जवाफ माग गरेको र दुबै पक्षले दिएको जवाफले आयोगलाई प्रष्ट आधार दिन नसकेकाले ऐन/कानून र पार्टीको विधान अनुसार एउटै नेकपा चिन्ने निष्कर्ष निकालेको छ ।

आयोगले पार्टीको विधानानुसार सोधिएको प्रश्नमा दुबै समूहबाट यथेष्ट जवाफ नआएकाले अलग अलग मान्यता दिन नसकिने आयोगले जनाएको छ । आयोगले नेकपाका दुबै समूहलाई पार्टीको आधिकारिकताका लागि राजनीतिक दल सम्बन्धी ऐन र नेकपाको विधान अनुसार प्रश्न सोधेको थियो । दुबै समूहको निर्णय अवैधानिक भएकाले औपचारिकरुपमा नेकपा एउटै रहेको आयोगले निष्कर्ष निकालेको छ ।

आयोगसँग भएको अभिलेखमा नेकपामा अध्यक्ष केपी शर्मा ओली र पुष्पकलम दाहाल ‘प्रचण्ड’ नै छन् । पदाधिकारीहरुमा वरिष्ठ नेता माधवकुमार नेपाल कायमै रहेकाले उनी अध्यक्ष भएको विषयले वैधानिकता नपाउने आयोगको हालसम्मको ठहर रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई समुहमा विभाजित बनेकोछ । दुबै समूहले छुट्टा छुट्टै केन्द्रीय कमिटी, स्थायी कमिटी बैठक तथा कार्यकर्ता भेलाहरु गर्दै आएका छन् । तर, कानूनीरुपमा दुबै समूह अहिले पनि एउटै दलका रुपमा रहेका छन् । प्रचण्ड माधव समूहले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि कार्यकारी अध्यक्षबाट प्रचण्डलाई हटाएको भनेको छ । दुबै समूहले अहिले नेकपाको एउटै लेटरप्याड, छाप, चुनाव चिन्ह प्रयोग गर्दै आएका छन् ।

दुबै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा गरिएको हेरफेरलाई दल दर्ताै किताबमा अद्यावधिक गर्न आयोग समक्ष आग्रह गर्दै आएका छन् । आयोगले पुस २३ गते दुबै समूहको आग्रह अस्वीकार गर्दै त्यसमा विधानसम्मत् हुनुपर्ने बताउँदै आएको छ ।