विशाल श्रेष्ठ, सउल, दक्षिण कोरिया। इपीएस प्रणाली मार्फत दक्षिण कोरिया आएका एक नेपालीलाई कोरियन सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउने भएको छ। मङ्गलबार निकालेको गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सार्वजनिक सूचना अनुसार उक्त युवकलाई लागू औषधको कसुरमा देश निकाला गरिने भएको हो।
कोरिया प्रस्थान गरे लगत्तै गरिने स्वास्थ्य परिक्षणमा रगतमा लागूपदार्थको मात्रा देखिएको थियो । एनआरएनए दक्षिण कोरियाले सूचनामा कोरिया आउने तयारीमा रहेका नेपालीलाई सचेत समेत गराएको छ। ‘कोरिया आउनुभन्दा अगाडी नेपालमा लागूपदार्थ सेवन गर्नु भएको छ भने कोरिया आएपछि गरिने स्वास्थ जाँचमा तपाईको रगतमा ड्रग्सको मात्रा देखिन्छ। जसका कारण नेपाल फर्कनु पर्नेछ,’ संघले सूचनामार्फत सचेत गराएको छ।
रगत परीक्षणको रिपोर्टमा लागूपदार्थले मात्र नभइ बिरामी हुँदा प्रयोग भएका औषधीले समेत ड्रग्सको मात्रा देखिने भएकोले आफूले प्रयोग गरिरहेका औषधीहरुको विवरणसहित आधिकारिक कागजात साथमै राख्न संघले सुझाब दिएको छ। भाङको अचार खाने गर्दा पनि रगतमा लागूपदार्थको मात्रा देख्ने समस्या आउन सक्ने भन्दै कोरिया आउनुपूर्व त्यस्ता चिज सेवन नर्गन संघले आग्रह गरेको छ। ‘इपीएसमार्फत आएका श्रमिकको स्वास्थ्य परीक्षण गर्दा रगतको पनि जाँच हुन्छ। रगतमा ड्रग्सको मात्रा देखिएमा पुन : परीक्षण गरिन्छ। दोस्रो पटक पनि ड्रग्सको मात्रा देखियो भने यहाँको सरकारले देश फिर्ता पठाइदिन्छ।

