काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा रहेको बताएका छन् । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी कौसर शाहसहितका नेता तथा कार्यकर्तालाई शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले “हाम्रो पार्टी भित्र चल्ने बहस र छलफलहरु समाजवाद तिरको यात्राका भएको र त्यस सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन्” भनेका छन् ।
कार्यकारी अध्यक्षले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रा तिर आफूहरु अगाडि बढेको बताएका छन्, उहाँले “यो बेला पक्कै पनि चुनौतिहरु आउँछन् । ती समस्या र चुनौतिको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै छ । कम्युनिष्ट पार्टीले आफैं भित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवाद तिर लाग्नेछौं” भनेका छन् ।
नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पुरा गर्ने विश्वास लिएको बताएका छन् ।

