काठमाडौं। आज माघ १ अर्थात माघे संक्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने दिन। यस दिन स्नान, दान, खानपिन र रमाइलो गरेर मनाइन्छ।
माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुदै जान्छन् । माघे संक्रान्तिको अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा स्नान गर्ने भक्तजनको भीड लाग्छ ।
आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास पनि रहिआएको छ ।
थारु तथा मगर समुदायले भने आजको दिनलाई माघी पर्वका रुपमा मनाउदैछन् । पर्वमा पुस मसान्तको अघिल्लो दिन नजिकैको खोला र नदीमा माछा मार्ने, मसान्तीका दिन जिता (सुंगुरबंगुर) काट्ने, नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्रीलगायत परिकार बनाएर नाचगान गर्दै मिलेर खाने चलन हुन्छ ।

