काठमाडौं। केही दिन यता घटबढ भईरहेको शेयर बजार यस साताको पहिलो दिन ७३.०१ अङ्कले बढेको छ। नेप्से परिसूचक सँगै साताको पहिलो दिन कारोबार रकम पनि बढेर ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यो रकम मंसिर १ गतेदेखि यताको सबैभन्दा बढी हो।

नेप्से परिचूचकमा आज २३९ कम्पनीको ८२ हजार ११३ पटकको कारोबारमा ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको छ।

शेयर बजारमा हरियाली भएसँगै हिमालयन उर्जा विकास कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स, युनियन हाइड्रोपावर र मध्य भोटेकोशी गरी चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

नेप्सेको १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०८ प्रतिशत, विकास बैंक र वित्त उपसमूहको परिसूचक ५ प्रतिशत, जलविद्युत र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दामाथि बढेको छ। त्यसै, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।