काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एउटा भाषणको कारण आईतबार शेयर बजारमा ८८ अंकको गिरावट आएको छ । 

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको हो। नेप्से परिसूचक ८८ अंकभन्दा धेरैले घटेर २३ सयको लाइनमा झरेको छ । ३ हजार २ सय माथि पुगेको नेप्से परिसूचक केही महिनादेखि लगातार घटेर आइतबार २ हजार ३ सय ६१ दशमलव २७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकमा झरेको छ ।

कारोबार रकममा पनि आइतबार उत्साह देखिएन । दिनभर भएका ५१ हजार ८ सय ४४ कारोबारबाट २२८ कम्पनीका ७४ लाख ६० हजार ८ सय ७४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँको कारोबार भएको छ । आइतबार ब्यापार र विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । व्यापार समूहको उपसूचक ७ प्रतिशतले घटेको छ भने विकास बैंकको पनि ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी पूँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका थिए । शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले एकाधिकार पूँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पूँजीवादमा भूमण्डलीकृत पूँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पूँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए। अध्यक्ष प्रचण्डले शेयर बजार प्रति लक्षित गर्दै पहिले पहिले पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पूँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताएका थिए । उनले नेपाल लगायत विश्वभर नै पूँजीको लगानी धितोपत्र, सट्टा बजार,आईएमएफ,विश्व बैंक र एसियाली बैकहरुमा हुने गरेको बताएका थिए ।

वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सिमित पूँजीपतिहरुको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना भएको समेत उनको भनाई थियो । यसरी विश्वको पैसा सिमित पूँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङगो राख्ने प्रणाली पूँजीबजार रहेको समेत अध्यक्ष प्रचण्डले बताएका थिए ।

अध्यक्ष प्रचण्डनै पुजिबजारप्रति नकरात्मक देखिएपछि उनकै स्कुलिङमा हुर्किएका अर्थमन्त्री जनार्दन शर्माको धारणा शेयर बजार प्रति के होला ? लगानीकर्ताहरुको यहि सोचका कारण आईतबार शेयर बजार घटेको बिष्लेशकहरुको दाबी छ ।