काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजार घट्नेक्रम जारी रहेको छ ।
नेपाल स्टक एक्सेन्च (नेप्से) सूचकका साथमा खरिदबिक्री रकम पनि सुस्ताएको छ ।
यस दिन नेप्से सूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा आइपुगेको छ । नेप्से ०.२४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.४३ अंकले बढेर ४६५.२३ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीको ६२ लाख २३ हजार ७ सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।यो औसतभन्दा निकै कम कारोबार रकम हो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको शेयर घटेको छ ।
यता, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुझेर मात्रै सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा सेयर बजारमा लगानी ओइरिएको पनि बताए । बिहीबार अर्थसमितिमा भएको छलफलका क्रममा गभर्नर अधिकारीले सेयर बजारमा बुझेर मात्रै लगानी गर्न र यसका लागि पब्लिक सचेतना बढाउनु पर्ने भन्दै वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजारमा साना लगानीकर्ता घटेको बताए । ‘साना लगानीकर्ता घटे, मार्जिन लोन पनि घट्यो ।बजार अनुमगन गर्न नसक्ने गरी घटे कसरी उत्साहित गर्ने हो,’ उनले भने ।उनले कम्पनीको ग्रोथ कम भएको तर सेयर मूल्य बढेको बढ्यै गर्नु स्वभाविक नभएको समेत बताए । उनले राष्ट्र बैंकले सेबोनलाई नियन्त्रण गर्न भन्नुपर्ने समेत बताए ।
‘यस विषयमा राष्ट्र बैंकले सेबोनलाई भन्न सक्नुपर्छ । यसले साना लगानीकर्तालाई प्रोत्साहन नै गर्छ, सेबोनलाई भनेर हेरोस्,’ उनले भने । उनले स्वभाविक रुपमा मूल्य बढेको राम्रो भए पनि कसैले कार्टिलिङ त गरेको छैन भनेर हेर्नुपर्ने बताए ।
यता अर्थसचिव मधुकुमार मरासिनीले भने तीन वर्षमा सेयर बजारमा व्यापाक उछाल आएको बताए । ‘नेप्से परिसूचक ११ सयबाट १३ सय हुँदै २५ सयसम्म पुग्यो, फेरि ३२ सय पुगेर अहिले २५ सयको हाराहारीमा आइपुगेको छ, यदि मार्जिन लोनको व्यवस्था नगरेको भए समस्या आउँथ्यो,’ मरासिनीले भने । मरासिनीले जलविद्युत् आयोजना निर्माण समपन्न नहुँदै कम्पनीको सेयर मूल्य बढेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले यसका लागि वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने बताए ।

