काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका ९० लाख कित्ता शेयर अर्थात् ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याउने छ र बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सर्वसाधारणले छिटोमा असोज २० गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरे कम्पनीले कात्तिक ३ गतेसम्म आवेदन खुला गर्ने छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई चयन गरेको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

