बिहीबार सेयर बजारमा ५० अंकको पहिरो गएको छ। ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा कायम भएको छ।
अर्कोतर्फ कारोबार रकम पनि बढ्न सकेको छैन। यस दिन ९ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ।
सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ १६, विकास बैंक १८६, फाइनान्स ११३, होटल तथा पर्यटन ११, जलविद्युत ११६, लगानी ३, जीवन बीमा ३५९, उत्पादन १३१, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा २३५, अन्य ३६ र ब्यापार समूह ३८ अंकले घटेका छन्।
बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। यी दुबै कम्पनी हालै सूचीकृत कम्पनी हुन्। आजको कारोबारपछि मनकामनाको मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ र सानिमा लाइफको ३३९ रुपैयाँ ९० पैसा पुगेको छ।
यसैबीच, नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जाको १२ करोडको सीमालाई तत्काल खारेज गर्न माग गरेको छ ।
फोरमले अर्थमन्त्री जनार्दन शर्मालाई पत्राचार गर्दै मौद्रिक नीति २०७८ मार्फत लागू गरिएको शेयर धितो कर्जाको सीमालाई तत्काल खारेज गर्न माग गरेको हो । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका बमोजिम १२ करोड पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने र सो सीमा व्यक्ति तथा संस्था दुबैका लागि लागू गरिएकाले सो सीमाका कारण लगानीकर्ताहरु शेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि शेयर बजारमा गिरावट आएको फोरमले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको ४० प्रतिशत मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने र त्यस्तो लगानी कुल ऋण लगानीको २.५० प्रतिशत मात्र रहेको फोरमले जनाएको छ ।०००
