काठमाण्डौं । सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै सबैभन्दा उच्च देखिएको छ ।
नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । निरन्तरको वर्षासँगै कोशीको बहाब बढ्दा श्रीलंका टापुको सुनसरी क्षेत्रमा नदीले कटान थालेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर आएको बताउनुभयो । गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उहाँले बताउनुभयो । नदीको बहाब बढेसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ ।
