काठमाण्डौ । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको साता नबित्दै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।
नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले दल विभाजनका बेला भने नेता नेपाललाई साथ नदिएपछि उनको पद धरापका पर्ने देखीएको छ । नेकपा एमाले छाडेर नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । माधव नेपाललाई साथ दिँदै वाग्मती प्रदेशसभाका पनि कतिपय सांसद नेकपा एकीकृत समाजवादीमा गएका छन् । संविधानअनुसार सत्तारुढ दल विभाजन भएमा मुख्यमन्त्रीले ३० दिनभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।
वाग्मतीमा १०९ प्रदेश सांसदमध्ये एमालेबाट सभामुखसहित ५६ जना छन् । हालको अवस्थामा दुईजना मात्र एमाले सांसदले अर्को दल रोजेमा मुख्यमन्त्रीको पद धरापमा पर्ने निश्चित छ । नयाँ दल दर्ता भएको औपचारिक पत्र प्रदेशसभामा भने आइसकेको छैन । एमालेबाट सामाजिक विकास मन्त्री समेत रहेका कृष्णप्रसाद शर्मा खनाल, राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं र लक्ष्मण लम्साल नेकपा समाजवादीको रुपमा खुलिसकेका छन् ।
मुख्यमन्त्री शाक्य भने पदमा रहेर आइपर्ने सम्पूर्ण समस्या बुझेर अघि बढ्ने बताउँछिन् ।
